हजुरबुवाको सिरानीको त्यो रेडियो खैरो कलर झल्लरवाला ! त्यो कभर कति सुन्दर थियो ।
तर मैले त्येतिबेला त्यो सुन्दरताको वास्तै गरिन । मात्र त्यो भित्र बोल्ने मान्छेलाई सुन्थेँ, ती आवाज सुन्दासुन्दै आफूलाई पनि रेडियोमा बोल्ने रहर जागिरहन्थ्यो ।
मैले रेडियोमा बोले कस्तो हुन्थ्यो ? भन्दै अनेकौँ जवाफ आफैलाई दिएर रोमाञ्ति हुन्थेँ । सांस्कृतिक रूपान्तरणका तीव्र कम्पनहरूमा आफ्ना कैयौँ सपनाहरूको महसुस गरिरहन्थेँ ।
मेरो हजुरबुवाको सिरानीमा बज्ने रेडियोमा म आफ्नो आवाज घन्केको आभास गरीरहन्थेँ तर सम्भव कसरी हुन्छ ? कुनै पत्तो नै थिएन ।
हाम्रो गाउँमा आधुनिकता, सभ्यता र सम्पन्नताको प्रतीक रेडियो नै थियो । सूचना र मनोरञ्जनको केन्द्र रेडियोलाई मान्थे ।
तल्लोमल्लो घर जाँदा होस् या घाँस, दाउरा, गोठालो जाँदा रेडियो भिरेर गीत घन्काउँदै हिँड्नु सान मानिन्थ्यो । अझै पनि त्यो गाँउमा रेडियोको त्यो इतिहास कायमै छ ।
सहरबजारमा सामाजिक सञ्जालको हुरीबताससँगै नेटइन्टरनेटले मान्छेलाई ब्यस्त बनाइरहेको छ । तर मेरो हजुरबुवा त अहिले हुनहुन्न ।
त्यो स्थानमा अहिले मेरो बुवा पनि त्यसरी नै रेडियो घन्काइरहनु हुन्छ । हजुरबुवाको रेडियोमा मेरो सपनाको आवाज बज्थ्यो भने मेरो बुवाको रेडियोमा मेरो प्रत्यक्ष आवाज बज्छ ।
कसले गाएको होला यति मीठा गीतहरू ? यत्रा मान्छेहरू कसरी बसेका होलान् यो सानो रेडियोभित्र ? भन्दै भनिरहने मान्छे अहिले त्यो ठाउँमा त्यो सबै खुलदुली मेटाइ रहेकोछु तर मैले सोचेभन्दा छुट्टै अनुभव बटुलिरहेको छु ।
त्यसैले पनि होला त्यो ठाउँमा रेडियोको स्थान झन् गाढा भएको छ । म पनि त्यही पुरानो रेडियो सम्झिरहेको हुन्छु ।
जोसँग मेरो बाल्यकालीन अतीतका अनेकौँ सपना गाँसिएका छन्, ती सपना पूरा गर्न सम्भब थिएन मलाई । तर घरपरीवार र सबैको साथले मैले मेरा केही सपना पूरा गरेकी छु ।
रेडियोसँगको यो मेरो सहयात्रा निकै नै रमाइलो र सहज भइरहेको छ ।
रेडियोसँगको यात्रा
मेरो जन्मथलो बैतडीको पाटन नगरपालिका १० साबिकको सिद्धपुर गाबिस ६ नम्बरमा अहिले बल्ल बिजुली पुगेको छ । म त्यहीँ हुर्केँ ।
त्यहीँ पढेँ र कक्षा १२ पास भएपछि उच्च शिक्षा पढ्नको लागि अलि नजिक भनेको डडेल्धुरा हो ।
त्यो पनि गाउँबाट सहर, सहर एक्लै पढ्नकै लागि सहज वातावरण नमिल्ने भएपछि घरबाटै परीक्षा दिने भनेर स्नातक (ब्याचलर) पहिलो वर्षमा जसोतसो भर्ना भएँ ।
फारम भरेपछिको पढाइ घरमै बसेर परीक्षा दिन मात्र आउन पर्ने बाध्यता थियो र त्यतिबेला झन रेडियो साथी नै बन्यो । पढाइलेखाइ, रेडियो सुन्ने, फोन गर्ने त्यस्तै दैनिकी चलिरहेको थियो ।
परीक्षाको समय आउँदा र त्यसको लागि कम्तिमा पनि १५ दिन डडेल्धुरा सदरमुकामै बस्नुपर्ने भयो ।
आफ्न्तकोमा बसेर परीक्षा दिँदै आफूले सुन्दै आएको रेडियोको स्टुडियो हेर्ने मौका पनि जुराएँ र मैले आएकै दिन रेडियोमा ठीक ५ जनाको लागि भ्याकेन्सी खुलिरहेको रहेछ ।
त्यो दिन अब परीक्षाभन्दा मैले आफ्नो सपनातिर लाग्नु प¥यो भन्ने विचार गरेँ । परीक्षाभन्दा बढी प्राथमिकता रेडियोलाई दिएर फारम भरेँ र संयोगवस म सफल पनि भएँ ।
त्यसपछि मेरो जीवनमा नयाँ खुसी र सपनाको प्रवेश भयो । एउटा अप्रत्यासित खुसी र आश्चर्यले हुरुक्कै थिएँ तर कामको बारेमा पूर्ण अनभिज्ञ थिएँ ।
जो मेरो अचम्मको रहस्य थियो, कहाँबाट बोल्छन् होला यति धेरै मान्छेहरू ? कसले गाएको होला यति मीठा गीतहरू ? यत्रा मान्छेहरू कसरी बसेका होलान् यो सानो रेडियोभित्र ? भन्दै भनिरहने मान्छे अहिले त्यो ठाउँमा त्यो सबै खुलदुली मेटाइ रहेकोछु तर मैले सोचेभन्दा छुट्टै अनुभव बटुलिरहेको छु ।
रेडियोमा राम्रो र अरूभन्दा फरक किसिमले कसरी आफूलाई चिनाउने भन्ने चेतना बिस्तारै आउन थाल्यो ।
‘रेडियोमा फलानाको छोरी बोल्छ ।’ भन्दै गाउँलेहरू, साथीहरू र आफन्तहरूबाट निरन्तर प्रशंसा पाउँदापाउँदै अहिले रेडियोकर्मी बनेँ ।
महिला शक्ति विकास केन्द्र नेपालको एक हप्ताको आधारभूत तालिमले मलाई सबै कुराको ज्ञान दियो । त्यसपछि म सक्छु र यो क्षेत्र मेरा लागि राम्रो छ भन्ने महसुस गरेँ ।
यही प्रशंसाले मलाई सञ्चारकोे बाटोमा लड्दै, उठ्दै हिँड्न सिकायो । रेडियोले नै मलाई जीवनमा बाँच्न सिकायो । अहिले तिनै सपनाको लौरो टेकेर म जीवनका उकालीओरालीमा हिँड्दै छु ।
कैयौँका जीवनगाथासँग आवाज पैँचो मागेर म आफ्नो समय र सपनासँग बोल्दैछु ।
रेडियोबाट मैले के पाएँ
मेरो १० वर्षको रेडियो यात्रामा मैले निकै ठूलो सम्पत्ति बनाउन नसकेँ हुँला तर सम्मान कमाएकी छु ।
सामुदायिक रेडियोमा काम गर्दाको ठूलो सम्पत्ति २०७५ सामुदायिक रेडियो पत्रकारिता पुरस्कार पाउँदा म निकै खुसी हुँदै थप जिम्मेवार बनाउने कोसिस गरेको छु ।
त्यसपछि मैले ‘चन्द्र न्यौपाने शान्तीराम कार्की’ स्मृति पत्रकारिता पुरस्कार र रेडियो कार्यक्रम उत्कृष्ट भएवापत अमार्कबाट पनि पुरस्कृत हुँदा अझै मैले केही गर्न बाँकी छ भन्ने लागिरहेको छ ।
आफूले चाहे जस्तो गर्न नसके पनि ठीकै तरिकाले यो यात्रा गरिरहेको छु । गाउँमै जन्मेँ, गाउँमै हुर्केँ, मलाई रेडियोमा सञ्चालन हुने कार्यक्रम बाहेक अरु केहीको बारेमा थाहा थिएन ।
न त कप्युटर देखेँ कहिले, न त सहरको वातावरण नै थाहा पाएँ तर पनि आँट गरेर रेडियोको यात्रा तय गरेको थिएँ ।
मैले क, ख बाट रेडियो अमरगढिमै सिकेँ र अहिले मैले धेरै चिज पाएको अनुभूति गरीरहेकी छु ।
म भन्छु हरेक क्षेत्र जस्तो सम्भावना, अवसर र मेहेनत गर्ने हो भने यो क्षेत्र एकदम राम्रो र सम्मानजनक छ । तर मेहेनत अरु ठाउँको भन्दा बढी नै गर्नुपर्छ ।
२०६९ साल चैतमा रेडियोमा आएँ । आएको ३ महिना पछि मैले एउटा तालिममा भाग लिने मौका पाएँ ।
महिला शक्ति विकास केन्द्र नेपालको एक हप्ताको आधारभूत तालिमले मलाई सबै कुराको ज्ञान दियो । त्यसपछि म सक्छु र यो क्षेत्र मेरा लागि राम्रो छ भन्ने महसुस गरेँ ।
त्यसपछि इक्वेल एक्सेससँगको सहयात्रा सुरु भयो । त्यसबाट मैले झनै अन्य ज्ञानबर्द्धक कुरा सिक्ने मौका पाएँ ।
बेला–बेलामा आयोजना भइरहने तालिमले मलाई निकै सहज भयो र सँगसँगै सामुदायिक रेडियो प्रसारक सङ्घ सीआईएनमा पनि रिर्पोर्टिङ गर्दै आएँ ।
२०७५ सालमा सामुदायिक रेडियो पत्रकारिता पुरस्कार पाउन पनि सफल भएँ । त्यसपछि अझै समुदायमा केही गर्न बाँकी छ भन्ने जिम्मेवारी थपियो ।
एन्टेना फाउण्डेशन नेपाल, सेयर काष्टलगायत विभिन्न सङ्घसंस्थासँग पनि सहकार्य हुँदै जाँदा यो क्षेत्रको धेरै राम्रो अनुभव र सम्मान पाउँदा यो नै मेरो सम्पत्ति हो जस्तो महसुस भयो र निरन्तरता सामुदायिक रेडियोमा नै दिइरहेकी छु ।
यो क्षेत्रमा पैसा छैन, महिलाहरू टिक्दैनन् भन्ने विचार स्थापित गर्न खोजेको सुन्छु बेलाबखतमा ।
म भन्छु हरेक क्षेत्र जस्तो सम्भावना, अवसर र मेहेनत गर्ने हो भने यो क्षेत्र एकदम राम्रो र सम्मानजनक छ । तर मेहेनत अरु ठाउँको भन्दा बढी नै गर्नुपर्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०, १२:११