सिमकोट । सर्केगाड गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा जलेर २ जना घाइते भएका छन् । आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएराति ११ बजे लैबा फडेरोको घरबाट सुरु भएको आगलागिमा परेर स्थानीय लैबा फडेरा र बम्बु फडेरा घाइते भएका छन् ।
आगोमा परेर दुवैजनाको शरीर जलेको छ । घाइेते दुवैजनालाई थप उपचारका लागि राति एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।
‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षति भएको भन्ने एकिन विवरण अहिलेसम्म आएको छैन् ।’ स्थानीय विजय फडेराले भन्नुभयो, ‘राति आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।’
रिप गाउँ र छिमेकी उनापानीका स्थानीयबासीको पहलमा आज बिहान साढे २ बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिनुभयो ।
सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
‘सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतिको विवरण एकिन गर्न सकिएको छैन् ।’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इनिष्पेक्टर विष्णु श्रेष्ठले रेडियो कर्णाली आवाजसँग भन्नुभयो ।
अहिले आगो निभिसकेको छ । सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीनालगायतको टोली उद्धार र राहत सामाग्री सहित घटनास्थलमा पुगेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२